facebook code

Friday, December 18, 2009

सोलुखुम्बुका एम्बुलेन्स-चन्द्रबहादुर

२५ मंसिर, सोलुखुम्बु । जिल्लाको नेचा बेतघारी गाउँ विकास समितिमा कोही बिरामी हुनासाथ चन्द्रबहादुर नेपालीलाई बोलाउने गर्छन् । नेपाली न डाक्टर हुन् न धामीझाँक्री नै । तैपनि कोही बिरामी हुनासाथ उहाँलाई बोलाउन बाध्य हुन्छन् स्थानीय बासिन्दा ।गोरखापत्र दैनिकमा खबर छापिएको छ ।स्थानीय बासिन्दाले उनलाई बोलाउनुको एउटै कारण हो- बिरामी बोक्न । गाउँमा कोही बिरामी हुनासाथ उनलाई गुहार माग्ने गर्छन् स्थानीय बासिन्दा ।सहर-बजारमा एम्बुलेन्सले बिरामी बोक्ने गरे पनि सोलुखुम्बुमा त्यो सुविधा छैन ।
सहर-बजारमा एम्बुलेन्सले बोक्ने बिरामी यहाँ चन्द्रबहादुर नेपालीले बोक्ने गर्नुहुन्छ । बिरामी बोकेर अस्पतालसम्म पुर्‍याउने काम गर्ने भएकाले नै स्थानीय बासिन्दाले चन्द्रबहादुर नेपालीलाई ‘गाउँको एम्बुलेन्स’ भन्ने गर्छन् । नेचा बेतघारी-७ थुम्कीका स्थानीय बुद्धिजीवी जीतमान राई भन्नुहुन्छ, ‘गाउँको नजिक अस्पताल छैन, कोही बिरामी पर्‍यो कि चन्द्रबहादुरलाई गुहार नमागी सुखै छैन ।’साह्रोगाह्रोमा बिरामी बोकेर अस्पतालसम्म पुर्‍याउने काम नै चन्द्रबहादुर नेपालीको पेसा बन्यो । नेपाली भन्नुहुन्छ, ‘नेचा बेतघारी गाविसको मात्रै पाँच सयजना बिरामी बोकेर अस्पताल पुर्‍याइसकेको छु ।’ नेचा बेतघारी-७ थुम्की निवासी उहाँले बिरामी बोकेर हात लागेको पारिश्रमिकले दसजनाको परिवार पाल्दै आउनुभएको छ ।
नेचा बेतघारीको मात्रै नभएर जिल्लाको पन्चन, सोताङ, मुक्ली, सल्यान र जुबु गाविसकाले पनि उहाँलाई बिरामी बोक्न बोलाउने गर्छन् । बाल्यकालदेखि नै भारी बोक्दै आउनुभएको उहाँले भन्नुभयो, ‘भारी बोक्नुभन्दा डोकोमा बिरामी बोक्न अप्ठ्यारो हुन्छ । बिरामीको अवस्था हेरेर हिँड्नुपर्ने हुन्छ । संवेदनशील बिरामी भए त खान त के ठाउँ-ठाउँमा बिसाउनसम्म पाइँदैन ।’ बिरामीलाई डोकोमा बोकेर जिल्ला अस्पताल फाप्लु, ओखलढुङ्गा मिसन अस्पताल र उदयपुरको कटारीसम्म पुगेको बताउने उहाँले भन्नुभयो, ‘आजसम्म जति बिरामी बोकेँ त्यसमा दुईजनाको ज्यान गयो । बाँकी सबैलाई अस्पताल पुर्‍याएर सफल उपचारपछि बोकेर बिरामीको घरसम्म ल्याएको छु ।’

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More